नेपालगञ्ज नाकाबाट जडिबुटीको निकासी रोकियो

नेपालगञ्ज, कात्तिक १ गते । नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुईवर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ ।
जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारततर्फ निकासी गर्न नपाएपछि नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब एक हजार टन जटिबुटी गोदाममा थन्किएको छ । देशभर करिब दुई हजार टन जडिबुटी ब्यवसायीहरुका गोदाममा थन्किएको सङ्घका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।
“भारतीय प्लान्ट क्वारेन्टाईनले आयातको सूचीमा नराखेका कारण जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी लगायतका जडिबुटीहरुको भारत निकासी हुन सकेको छैन,” सङ्घका अध्यक्ष शर्माले भन्नुभयो,– यसबाट जडिबुटी सङ्कलन र उत्पादन गर्ने किसानदेखि राज्यसम्मलाई बर्षेनी आर्थिक नोक्सानी भईरहेको छ ।
जडिबुटी ब्यवसायी मोहम्मद याकुब अन्सारीले जडिबुटीको निकासीमा सहजता भएमात्र मुलुकले आर्थिकरुपमा लाभ लिन सक्ने बताउनुभयो ।
“बर्षौसम्म गोदाममा जडिबुटी थन्क्याउँदा ब्यवसायीको क्रमशः नोक्सानी थपिदै जान्छ,“ सङ्घका पुर्ब अध्यक्ष समेत रहनुभएका अन्सारीले भन्नुभयो,–“नेपाल सरकारले जडिबुटी निकाशीमा सहजताका लागि समन्वय र सहयोग गर्न आवश्यक छ । भारतले केही समय अधिकाँश जडिबुटीको आयातमा रोक लगाएको भएपनि सरकारी समन्वयमा ४२ प्रकारका जबिडुटी निकाशी हुन पाएपनि १२ प्रकारका जडिबुटी निकाशी रोकिएको सङ्घको भनाई छ ।
१२ प्रकारका जडिबुटी भारत निकास हुन नपाएपछि नेपालबाट बर्षेनी जडिबुटीको निकासी पनि कमी भईरहेको छ । गत आवमा चार हजार ५८३ टन जडिबुटी मात्रै भारततर्फ निकासी भएको छ । भारतीय अवरोधसँगै कोभिडका कारण पनि जडिबुटी निकासीमा कमी आएको हो । नेपालगञ्जबाट करिब ८० प्रतिशत भारतमा,१० प्रतिशत चीन र बाँकी अमेरिका, जर्मनी लगायतका मुलुकमा निर्यात हुने गरेको छ ।
सीमा क्षेत्रका स्थापना भएको नेपालको प्लान्ट क्वारेन्टाईनले भारतीय निकायसँग उचित पहल नगर्दा समस्याको समाधान हुन नसकेको ब्यवसायीहरुको दावी छ । क्वारेन्टाईनले नसक्ने हो भने राज्यका अन्य निकायसँग समन्वय र सहकार्य गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने ब्यवसायीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया