बुधबार र बिहिवार भिटामिन ए खुवाइने

नेपालगञ्ज, कात्तिक १ । सरकारले बुधबार र बिहीबार (कात्तिक २ र ३ गते) देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिना उमेरका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनिकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ । सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ ।

सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया