जब ओली पेट्रोलियम पदार्थ उत्खनन्स्थल पुगे…

हिक्मतबहादुर नेपाली
दैलेख । नेपाली जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धीस्वरुप ०७२ मा नयाँ संविधान जारी भयो । आठवर्षअघि नयाँ संविधान जारी हुँदा त्यसलाई लिएर भारतले व्यक्त गरेको चिसो र प्रतिक्रिया अझै पनि धेरैको मनमा ताजै छ । त्यो थियो, अघोषित नाकाबन्दी । भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुन थाल्यो । यहिबेला सुरुभयो, देशभित्रै पेट्रोलियम पदार्थको खानीको खोजी । अनी सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम । नाकाबन्दीले नै यहाँको पेट्रोलियम पदार्थको उत्खनन्को सुरुवात गर्ने साइत जुराएको थियो ।

२०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख आइपुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको टोलीले पेट्रोलियम पदार्थको भण्डार रहेकोले अन्वेषण गर्ने उद्घोष ग¥यो । अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि समेत ग¥यो । ०७२ को चैतमा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भयो । सोहि सहमति अनुसार खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्का लागि आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भयो ।

०७६ कात्तिक मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरे । त्यसयता नेपाल र चिनियाँ प्राविधिक टोलीले विभिन्न चरणको सर्भे गरे । हाल दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खनन्का लागि अन्तिम अन्वेषणको काम चलिरहेको छ । पेट्रोलियम उत्खनन् अन्तरगर्त अन्वेषणका लागि भैरबी गाउँपालिका–१ जलजलेमा (साविकको रावतकोट गाविस–६) जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ । गत माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषणका लागि जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । स्थानीय २४ जना जग्गाधनीको करिब ४५ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको छ ।

सोहि क्षेत्रमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । आफु प्रधानमन्त्री हुँदा सुरु गरेको पेट्रोलियम अन्वेषणको कामबारे ओलीले स्थलगत अवलोकन गरेका हुन् । नेकपा एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगर्त पेट्रोलियम पदार्थ उत्खनन्स्थलमा ओली पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीय शेरबहादुर थापा भन्छन् ‘यहाँ पेट्रोलियम पदार्थ उत्खनन् कार्य सूरु भएको छ, चार किमी गहिराईसम्म अन्वेषण गरेर पेट्रोल निस्किदैँछ भन्ने थाहा पाएका छौँ, आफ्नै ठाउँमा पेट्रोल निस्किदैँछ हामी औधी खुसी छौँ, प्रधानमन्त्री छदाँ सुरु गरेको कामको अवस्था बुझ्न आउनुभएका पूर्वप्रधानमन्त्री एंव एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न पाउँदा झनै खुसी भयौँ ।’

पञ्चकोशी तिर्थस्थल अन्र्तगत सदिऔँदेखि ज्वाला बलिरहेको श्रीस्थान क्षेत्रपछि पेट्रोलियम पदार्थ उत्खनन्स्थल पुगेका ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्तीका लागि पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताए । ओलीले पेट्रोलियम पदार्थको उत्खनन् कार्य तीब्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘दैलेख ऐतिहासिक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो,’ ओलीले भने ‘एमाले नेतृत्वको सरकारको पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउन अन्वेषण गर्न टोली खटाएका थियौँ ।’ केहि अवरोधहरु आएपनि अब पेट्रोलियम पदार्थको उत्खनन् कार्यले छिट्टै पूर्णता पाउने ओलीले बताए । देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठुलो हिस्सा ओगट्ने ओलीको भनाई छ ।

खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण तथा प्रर्वधन परियोजना प्रमुख दिनेश कुमार नापितले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताए । ‘चिनियाँ कम्पनीले गरेको सर्भेले चार हजार मिटरसम्म उत्खनन् गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो,’ नापितले भने ‘हामीले चार हजार पाँच सय मिटरसम्म उत्खनन् गर्दा ग्याँस र पेट्रोलियम पदार्थको सम्भावना निकै राम्रो देखिएको छ ।’
ओलीले जिल्ला सदरमुकाममा सार्वजनिक भेट समेत गरेका छन् । उनले धार्मीक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको दैलेखका विकासमा आफु प्रतिबद्ध रहेको बताए । ‘पेट्रोलियम पदार्थ उत्खनन् कार्यको पूर्णता, तिब्बत जोड्ने सडक, कृषिमा आधुनिकीकरण, दुल्लुलाई स्मार्ट सिटी बनाउने लगाएतको योजनाहरु पुरा गरिनेछ,’ ओलीले भने ।

तपाईको प्रतिक्रिया