प्लास्टिकजन्य सामग्री विस्थापित गर्न ‘डोको अभियान’

हिक्मतबहादुुर नेपाली
दैलेख । दैलेखमा सदिऔँदेखि वर्षेमेला सञ्चालन हुँदै आएको छ । मेलाको धार्मीक र सांस्कृतिक पहिचान छ । गत भाद्रमा लागेको यो मेलामा फरक दृष्य देख्न सकिन्थ्यो । सडकमा ‘डोको मान्छे’ देखिन्थे । बाँस र निगालोको चोयाँबाट बनेको टोपी, कोट र हाफ पाइन्टमा सजिएका युवाहरु हुन्, डोको मान्छे । ती युवाहरुले प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई कम गर्ने सन्देश छोडेका छन् । दैलेखका युवाहरुले थालेको ‘डोको अभियान’ अन्तरगर्त युवाहरुले वातावरणमैत्री नीति निर्माणका लागि मेयरसँग डोको मान्छे कार्यक्रम चलाए । अभियानको नेतृत्व गरेको पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीका अनुसार नारायण नगरका मेयरसँग डोको मान्छे कार्यक्रम चलेको हो । नगरमा वातावरण संरक्षण नीति निर्माणमा अभियानले प्राविधिक सहयोग गरिरहेको अध्यक्ष गिरीको भनाई छ ।

यो अभियानले जिल्लाको स्थानीय तह, विद्यालयदेखि चार्डपर्व र मेलामा विभिन्न कार्यक्रम गरिरहेको छ । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्दै चोयाबाट निर्मित डोको, टोकरी, नाग्लो प्रयोग गरि जोगाउन र स्थानीय उत्पादनलाई प्रर्बद्धन गर्न अभियान चलेको अध्यक्ष गिरी बताउँछन् । ‘प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, प्लास्टिकका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले वातावण र मानव स्वास्थ्यमा असर पु¥याउने हुँदा वातावरणमैत्री र लोप हुन लागेका परम्परागत सामग्री प्रयोगलाई प्रर्बद्धन गर्न खोजेका हौँ,’ गिरीले भने ।

शहर बजारसँगै ग्रामिण क्षेत्रमा पनि प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले जलवायू परिवर्तनमा प्रभाव पारिरहेको अभियानको ठहर छ । अभियानले जिल्लाको नारायण नगरपालिकाका विभिन्न विद्यालयमा इको क्लब गठन गरेको छ । यहाँका चार विद्यालयहरु त्रिभुवन मावी, सरस्वती मावी, बसन्त मावी र महेन्द्र मावीमा अध्ययनरत विद्यार्थी सम्मिलित क्लब गठन गरेको छ । इको क्लबमार्फत हरित विद्यालयको अवधारणा अनुसार क्रियाकलाप सञ्चालन गरिएको छ । ‘क्लबमार्फत विद्यालयमा पलास्टिकजन्य सामग्री प्रयोगलाई निरुत्साहित गर्ने, बगैँचा निर्माण, हरियाली प्रर्बद्धन, करेसाबारी र विद्यालय हाताभित्र गमलामा फूल खेती लगाएतका कामहरु भईरहेका छन्,’ गिरीले भने ।

तपाईको प्रतिक्रिया