एमालेको एकल बहुमतको सरकार नबने देश बर्बाद हुन्छः ओली


हिक्मतबहादुर नेपाली
दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमतको सरकार नबने देश बर्बाद हुने दाबी गरेका छन् । देशलाई विकासको बाटोमा अघि बढाउनका लागि एमालेको एकल बहुमतको सरकार चाहिने ओलीको दाबी छ । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगर्त कर्णाली नदि किनारस्थित दैलेखको राकमकर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने बताए ।

‘एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधिनता अर्थहिन भएर गईरहेको छ, त्यो झन कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, भूमी फिर्ता आउँदैन् झन मिचिने सम्भावना हुन्छ,’ उनले भने । आगामी चारवर्षपछि एमालेको एकल बहुमतको सरकार बन्ने उनको दाबी छ ।

एमालेको सरकार षड्यन्त्रपूर्वक हटाईएको ओलीको भनाई छ । ‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाईयो, एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रुपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खरावीहरु छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । महंगी बढ्यो, युवाहरु विदेशीनुपर्ने रोजगारी नपाउने अवस्था बन्यो, विकास ठप्प छ, भ्रष्टाचार बढ्यो,’ ओलीले भने । एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेको ओलीको दाबी छ ।

‘एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो, युवाशक्ति विदेशीने क्रम घटेको थियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने ‘देशको विकासका लागि एमाले चाहिन्छ । अनीमात्र देश बचाउन सकिन्छ, देशलाई अगाडी बढाउन सकिन्छ, सुशासन ल्याउन सकिन्छ, विकास ल्याउन सकिन्छ, समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिन्छ ।’ वर्तमान गठबन्धनको सरकारका कारण देशको विकास ठप्प भएको ओलीको दाबी छ । देशका सबै जनता खुसी रहुन् भन्ने एमालेले लिएको नीतिलाई सिंगो नेपाली जनताले राम्ररी बुझेको ओलीले बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले पार्टीको सन्देश सुनाउँदै आम जनताको भावना बुझ्न अभियान थालेको बताए । उनले अभियानका क्रममा स्थानीयस्तरको समस्या र सम्भावनालाई गहिरो गरि बुझ्ने र सोहि अनुसार आगामी दिनमा पार्टीले नीति लिने बताए । ‘अभियान अन्र्तगत सुदुरपश्चिमको यात्राका क्रममा वर्तमान सरकारबाट आम जनता वाक्क दिक्क बनिसकेको पाएँ, सबै जनताहरु एमालेको सरकार कहिले बन्छ भनेर पर्खिरहेका छन्, समृद्ध नेपाल खुसी नेपाली बनाउनका लागि एमालेको सरकार बन्नु पर्ने आम नागरिकको अपेक्षा छ,’ ओलीले भने ।

राकमकर्णालीलाई नयाँ शहर बनाउने घोषणा अनुसार काम भईरहेको उनको भनाई छ । मध्यपहाडी राजमार्ग खुलेपछि पहाडी र दुर्गम गाउँहरु सुगम बन्दै गएको अध्यक्ष ओलीको भनाई छ ।

तपाईको प्रतिक्रिया