कर्णालीमा आज शोक मनाउने, विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने

सुर्खेत : कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति  श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । शुक्रवार राती गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सयभन्दा बढी घाइते भएका छन् ।

त्यसै गरी कर्णाली प्रदेश सरकारले भूकम्प पीडितहरूको राहत र उद्धारका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा दश करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।

भूकम्पबाट प्रभावित स्थानीय तहलाई तत्काल राहत र उद्धारका लागि स्थानीय तहले खर्च गर्ने गरी अवस्था हेरेर पाँचदेखि २५ लाख रुपियाँसम्म प्रदान गर्ने पनि निर्णय भएको उनले बताए । राहतका कामलाई एकद्दार प्रणालीमार्फत गर्ने र जिल्लामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विपद्को समयमा सहयोग गर्न सबैलाई सार्वजनिक रूपमा आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया