उमेरले छेकेन पढ्ने धोको


हिक्मतबहादुर नेपाली
दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका–३ मेहेलतोली गाउँकी ५० वर्षिय जगतकुमारी बिसी खड्काले कक्षा १२ पास गरेकी छन । जाजरकोटको छेडागाड नगरपालिका–४ स्थित रामोदय मावी भर्ना भएकी उनि २.७७ जिपिएसहित विद्यालय तहको अन्तिम परीक्षा उर्तिण गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको नतिजामा उर्तिण भएसँगै उनलाई बधाई दिनेहरुको ओईरो लागेको छ ।

२०३० बैशाख २५ गते भगवतीमाई गाउँपालिका–४ जगनाथमा जन्मिएकी जगतकुमारीको अध्ययन यात्राको कथा बेग्लै छ । उनले २०४२ सालमा दैलेख जिल्ला सदरमुकामस्थित त्रिभुवन मावी नयाँबजारबाट ९ कक्षा उर्तिण गरेकी थिइन् । ‘त्यसबेला गाउँमा मावी तह पढाई हुने विद्यालय थिएनन्, गाउँबाट सदरमुकामसम्म बसेर पढ्ने विद्यार्थी कम हुन्थे, महिलाहरु सदरमुकाममा गएर पढ्न पाउने सम्भव नै थिएन्, म एक्लै भएँ, त्यसबेला ९ कक्षा पढेर पढाई नै छोडे,’ उनि भन्छिन् ।

२०४९ सालमा उनको विहेवारी भयो । मेहेलतोली गाउँका जयबहादुर खड्कासँग विवाह बन्धनमा बाँधिएकी जगतकुमारीले युवा उमेर चुलोचौको, परिवार र सन्तानकै लागि बिताईन् । उनलाई पढाईले उमेरले छेक्दैन् भन्ने राम्रोसँग थाहा थियो । पढ्ने हुटहुटी पनि उस्तै । कक्षा ९ उर्तिण गरेको झण्डै २८ वर्षपछि २०७० मा महादेव मावी मतलपाटामा कक्षा १० मा भर्ना भइन् । त्यसबेला एसएलसी परिक्षामा सहभागि भइन् । अनी उर्तिण पनि ।

एसएसली उर्तिण गरेको झण्डै ८ वर्ष फेरी पढाईमा ब्रेक लाग्यो । २०७८ देखि पढाईलाई पुःन निरन्तरता दिन थालिन् । कक्षा ११ मा भर्ना भई पढ्न सुरु गर्नुको पछाडी अर्को कथा छ । जगतकुमारीका जेठा छोरा पदमराज खड्का रामोदय मावीमा जागिरे भए । अंग्रेजी र आईआर विषयमा स्नातकोत्तर गरेका पदमराज शिक्षकको रुपमा जागिरे भएपछि पदमकुमारीको विद्यालय तहको अन्तिम शिक्षा लिने बाटो खुल्यो ।

‘२०७८ देखि रामोदय मावीमा अंग्रजी विषय पढाउने गरि म शिक्षक नियुक्ती भएँ, त्यसपछि आमाको पढाईलाई पनि निरन्तरता दिनुपर्छ भन्ने योजना बनाए,’ पदमराज भन्छन् ‘उहाँ (आमाले) नियमित कक्षा लिन पाउनुभएन्, आफै शिक्षक भएकोले आमाको पढाईमा घरमै पनि सहयोग गर्थे, अहिले राम्रो अंकसहित उर्तिण भएपछि आमा पनि खुसी हुनुहुन्छ, हामी पनि खुसी छौँ ।’

जगतकुमारीका जेठो छोरा पदमराज शिक्षक हुँदा माइलो छोरा महेन्द्र खड्का सहपाठी थिए । उनले २०७० मा माइलो छोरा महेन्द्रसँगै एसएलसी उर्तिण गरेकी थिइन् । जगतकुमारीका माइलो छोरा महेन्द्र हाल भारतिय सेनामा कार्यरत छन् । महेन्द्र ३.१२ जिपिए ल्याएर १२ कक्षा उर्तिण भएका हुन् । ‘कक्षा ११ र १२ पढ्दा जेठो छोरा शिक्षक, माइलो छोरा सहपाठी बन्यो, नियमित कक्षामा उपस्थित हुन त पाईन् तर, यो उमेरमा एउटा छोरा शिक्षक अर्को छोरा सहपाठी थिए भन्न पाउँदा पनि खुसी लाग्छ,’ जगतकुमारीले भनिन् ।

जगतकुमारीका तीन छोरा र तीन छोरीसहित ६ सन्तान छन् । जेठो छोरा पदमराज दुई विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् । उनि भगवतीमाई गाउँपालिका–४ स्थित मनघर कालिका मावीमा शिक्षक छन् । भारतीय सेनामा कार्यरत माइलोछोरा जगतकुमारीसँगै १२ कक्षा उर्तिण गरे । एसईई उर्तिण गरेको कान्छो छोरा नेपाली सेनामा कार्यरत छन् । छोरीहरु क्रमशः कक्षा ११, विविएस दोस्रो वर्ष र ८ मा अध्ययनरत छन् । जगतकुमारीका श्रीमान जयबहादुर गाउँमै समाजसेवामा संलग्न छन् ।

तपाईको प्रतिक्रिया