अनि शेर्पाले पाए नागरिकता…


हिक्मतबहादुर नेपाली
दैलेख : ढल्किदै गरेको उमेर । दाँया हातमा लौरो । बाँया हात पत्निको सहारा । उमेरले ५६ वर्ष पुगेका ठाटीकाँध गाउँपालिका–३ भुवाखाडाका चन्द्रबहादुर शेर्पा दम्पती मंगलवार जिल्ला प्रशासन कार्यालयको मुल गेटबाट भित्र पसे । नागरिकताका लागि सबै कागजात कर्मचारीलाई बुझाए । अनि शेर्पालाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नागरिकताको प्रमाणपत्र प्रदान गरे ।

लामो संघर्ष र मेहनतपछि बल्लतल्ल नेपाली नागरिकताको प्रमाणपत्र हातमा पर्दा शेर्पाको अनुहारमा खुशी छायो । बर्षौंसम्म संघर्ष गरेर नागरिकता पाउँदा उनमा खुशीको सीमा नै थिएन । अझ भन्दा उनले एउटा लडाइँ नै जिते । अर्थात नेपाली नागरिक भएको प्रमाण पाए । चन्द्रबहादुरुले यो नागरिकता सहजै भने पाएका होइनन् । उनले यो नागरिकता पाउनुको पछाडि धेरै संघर्ष छ ।

शेर्पाले प्राप्त गरेको नागरिकतामा पितृत्व र मातृत्वको ठेगान नभएको उल्लेख छ । शेर्पाको नागरिकतामा २०२४ बैशाख १५ गते जन्ममिति कायम भएको छ । अनागरिक सरह बाँच्न बाध्य भएका शेर्पा परिवारको व्यथाबारे विभिन्न संचार माध्ययममा समाचार प्रकाशन प्रशारण भएको थियो । नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शेर्पा परिवारलाई अब नगारिक भएर बाँच्नुपर्ने बाध्यता अन्त्य भएको बताए । ‘शेर्पा परिवारलाई अब जन्मदर्ता, विवाह दर्ता, मताधिकार, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगाएतको सम्पूर्ण सेवासुविधा पाउने अधिकारको बाटो खुलेको छ’ हमालले भने ।

शेर्पा सानै उमेरमा पूर्वी नेपालबाट आमासँगै भारतको हिमाञ्चल प्रदेश पुगेका थिए । त्यसपछि आमाले अन्तै विवाह गरेर गएपछि उनी एक्लिए । परदेशमा एक्लो बनेका शेर्पाको उतै दैलेखका सरुने सुजीसँग भेट भयो । सुजीको साथमा शेर्पा पनि दैलेखको भुवाखाडा गाउँमा आए । उनी दैलेखको भुवाखाडा गाउँमा बसोबास गर्न थालेको तीन दशक पुरा भईसकेको छ । जन्मदर्ता र नागरिकता प्राप्तिको लागि उनले सरकारी निकाय धाउन थालेको २५ वर्ष बिति सकेको थियो । उनको थर ठेगान नखुलेको भन्दै प्रशासनले नागरिकता दिन अस्वीकार गर्दै आएको थियो । बाबुको नागरिकता नहुँदा उनका ६ सन्तानको जन्मदर्ता हुन सकेको थिएन भने नागरिकता पनि पाउन सकेका थिएनन् ।

लामो संघर्षपछि उनी नेपाली नागरिक ठहरिएका छन् । अधिकारकर्मी, जनप्रतिनीधि लगाएतको सहयोगले आफुले नागरिकता प्राप्त गरेको शेर्पा बताउँछन् । ‘बर्षौदेखि नागरिकता पाउन सकेको थिइँन’ उनले भने, ‘कोही नहुनेको सरकार हुन्छ भन्ने सुनेको थिएँ, आफैले भोग्न पाएँ । आज मनले शान्ति पाएको छ ।’ शेर्पाले लामो संघर्षपछि नागरिकता त पाए, तर उनले आफ्नै नागरिकता सहजै देख्न सकेका छैनन् । उनका दुवै आँखा हाल कमजोर भएका छन् । आँखाले धमिलो देख्ने भएका कारण आफूले बर्षौंपछि पाएको नागरिकता पनि राम्रोसँग हेर्न नपाएको उनको गुनासो छ ।

अब हुनेछ जन्मदर्ता

शेर्पा पत्नि गगनी विकको भने माइतीबाट बनाएको नागरिकता छ । तर चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्ता हुन सकेको थिएन । जसकारण उनीहरूका ६ सन्तानको न जन्मदर्ता बनेको थियो न त नागरिकता नै । अब नेपाली नागरिकता पाएसँगै शेर्पा दम्पतीको विवाह दर्ता गर्ने बाटो खुलेको छ । अर्कोतर्फ सन्तानको जन्मदर्ता र नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् ।

झण्डै २८ वर्षअघि विवाह बन्धनमा बाँधिएको शेर्पा दम्पतीका तीन छोरा र तीन छोरी छन् । जेठी छोरी पवित्रा (२५) र माईली छोरी दिपा (२३) को बिहे भईसकेको छ । दुई छोरीकोसमेत चार सन्तान भईसकेका छन् । अर्की छोरी १३ वर्ष पुगिन् । छोराहरू जीवन १६, राजन १२ र सुनील १० वर्षका छन् । शेर्पाले नागरिकता प्राप्त गरेपछि आप्mना ६ सन्तान र नातिनतिना सहित ११ जनाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता बनाउन पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया