विष नहाल्दा पनि फल्छ तरकारी

जलवायू अनुकुलन कृषि प्रविधि अंगालेर तरकारी खेती गरिरहेका मानबहादुर शाही ।

हिक्मतबहादुर नेपाली
सुर्खेत : करिब ३२ वर्षअघि वीरेन्द्रनगर नगरपालिका–९ पर्सेनीका मानबहादुर शाही घरबारीको माटोको उब्जाउ देखेर मख्ख पर्थे । त्यतिबेला परम्परागत रुपमा नगदे बालीको खेती हुन्थ्यो । त्यसबाहेक मौषम अनुसार अरु बालीनाली पनि राम्रै उब्जाउ हुन्थ्यो । २०४८ मा मानबहादुर नेपाली सेनामा भर्ति भएँ । ‘म सेनामा जागिरे भएपछि घरमा आउजाउ कम भयो, घरपरिवारले व्यवस्थित खेती प्रणाली अपनाउन सकेन, बारीको उब्जाउ शक्ति विस्तारै घट्न थाल्यो, उत्पादन बढ्ने आशले किटनाशक विषादीको प्रयोग गर्न थाल्यौँ,’ उमेरले ५५ नाघेका शाही भन्छन् ।

जागिरे जीवनको २० वर्षपछि रिटायर्ड भएका शाही त्यहि माटोको उब्जाउ शक्ति बढाउने उपायको खोजीमा जुटे । त्यहि माटोमा आफ्नो जाँगर पोख्न थाले । हिजोआज बारीको उब्जाउ शक्ति बढ्दै गएको शाही बताउँछन् । कारण हो, उनले जलवायू अनुकुलन कृषि प्रविधि अंगाल्नु । ‘कुनैबेला राम्रो उत्पादन हुने बारीमा दुःख गरे अनुसार उत्पादन हुन छोड्यो, यसको कारण त किटनाशक विषादी प्रयोग पो रहेछ,’ शाहीले भने । तरकारी बालीमा लाग्ने रोग किरा नियन्त्रणका लागि जैविक उपचार विधि अपनाईएको उनको भनाई छ ।

पछिल्लो तीनवर्षयता बजारमा पाईने विषादी प्रयोग गर्नै छोडेको उनको भनाई छ । शाहीको बारीमा मौषम अनुसारको तरकारी उत्पादन भईरहेको छ । ‘तरकारी उत्पादन राम्रो भईरहेको छ, कुनै बेला विषादी प्रयोग नगरी तरकारी फल्दैन जस्तो लाग्थ्यो,’ उनले भने ‘विषादी प्रयोग नगर्दा पनि त तरकारी फल्दो रहेछ, त्यसमाथी अर्गानिक खाँदा स्वास्थ्य पनि नबिग्रिने ।’ आठ कट्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेको शाही परिवारले मौषम अनुसार काउली, बन्दा, गोवी, टमाटर, जाँगर लगाएतका तरकारी उत्पादन गर्ने गरेका छन् ।

तरकारी खेतीमा मानबहादुरमात्रै होइन, उनको परिवार नै होमिएको छ । मानबहादुरकी छोरी बिन्दु भन्छिन ‘तरकारी बारीमा कुनै पनि विषादी प्रयोग गरेका छैनौँ, जैविक मल प्रयोग गर्न थालेपछि उत्पादन पनि बढेको छ ।’ यो परिवारले तरकारी खेतीबाटै बार्षिक दुई लाख बढि रुपैयाँ आम्दानी गरिरहेको छ । बकाईनो, सिस्नो, तितेपाती, लसुन, सुर्खानी, मेवाको पात लगाएत प्रयोग गरेर जैविक विषादीको रुपमा तरकारी बारीमा प्रयोग गर्ने गरेको बिन्दुको भनाई छ । जैविक विषादी बनाउन एक महिना समय लाग्ने उनले बताइन् ।

व्यवसायिक रुपमा तरकारी खेती गरिरहेको यो परिवारले गड्यौला मल र ड्राई कम्पोष्ट मलको प्रविधि पनि अपनाएको छ । ‘निकास खोलामा बाँध बाँधेर सिंचाई सुविधा पनि ल्याएका छौँ, तरकारी खेतीमा जलवायू अनुकुलन कृषि प्रविधि अपनाउँदा बहुउपयोगी फाइदा भएको छ,’ एमएड तहमा अध्ययनरत बिन्दु भन्छिन् । मानबहादुरको परिवारमात्र होइन्, स्थानीय ६५ वर्षिय भूपबहादुर शाही पनि तरकारी खेतीमा संलग्न छन् । २०७१ मा सिंचाई सुविधा आएपछि तरकारी खेतीमा जुटेका शाहीले पछिल्लो तीन वर्षयता जलवायू अनुकुलन कृषि प्रविधिलाई अंगालेका छन् । ‘मैले तीन कट्ठा जमिनमा तरकारी खेती गरिरहेको छु, खेतीमा जैविक विषादी प्रयोग गरिरहेका छाैँ, मौषम अनुसारको तरकारी फलाईरहेको छु,’ उनले भने । विषादी प्रयोग नगरि तरकारी उत्पादन गर्ने गरेको शाहीको भनाई छ ।

व्यवसायिक तरकारी खेती गर्ने यी केहि प्रतिनिधिमुलक पात्र हुन् । पर्सेनी गाउँका २२ बढि घरपरिवार तरकारी खेतीमा संलग्न छन् । उनिहरु लगनशिल लद्युउद्यमी महिला कृषि समुहमा आबद्ध छन् । समुहमा आबद्ध कृषक सदस्यहरु मासिक रुपमा बैठक बस्छन् । समुहकी अध्यक्ष कृष्णा बिसीका अनुसार हरेक सदस्यले मासिक ५० रुपैयाँ बचत गर्छन् । यहाँ सामुदायिक सिकाई केन्द्र समेत स्थापना गरेको छ । सिकाई केन्द्रमा अवलोकनका लागि सुर्खेतसहित चितवन, बाजुरा लगाएतका जिल्लाबाट आउने गरेको अध्यक्ष बिसीको भनाई छ ।

तपाईको प्रतिक्रिया