प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत


सुर्खेत । प्रदेश गौरवको आयोजनाको रुपमा निर्माणाधिन प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्यांक अनुसार भौतिक प्रगति ६० र वित्तिय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रंगशालामा दर्शक प्याराफिटमा ४ हजार कुर्सिहरुको जडान कार्य सकिएको छ । भिआईपीतर्फको प्याराफिटमा सिभिल निर्माण कार्यको अन्तिम चरणमा रहेको र जसको फिनिसिङ र छाना निर्माण कार्य बाँकी रहेको परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए । कवर्ड हलको छाना बाहेक फिनिसिङ्ग कार्य भईरहेको उनले बताए ।

रंगशालमा पौडी पोखरी, व्यावसायीक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्यको अन्तिम चरण पुगेको छ । फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य भईरहेको छ । एथलेटिक्स ट्याकको सव वेस र नाली निर्माण सम्पन्न भईसकेको छ । रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको छ । निर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै काम अगाडी बढेको र हालसम्म ६५ करोड ८५ लाख रकम खर्च भएको खेलकुद परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य सचिव सञ्ज्यालका अनुसार आगामी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडी बढाएको जानकारी दिए । आगामी आर्थिक वर्षमा प्रदेश रंगशाला निर्माणका लागि ८५ करोड रुपैयाँ विनियोजन भएको सदस्य सचिव सञ्ज्यालले बताए ।

तपाईको प्रतिक्रिया