प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले शुक्रबार ३ बजे बैठक बोलाए पनि सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति नजुट्दा बैठक बस्दै नबसी स्थगित भएको हो। शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले आजको बैठक स्थगित गर्ने निर्णय गरेको हो। बैठकमा सभामुख घिमिरेले दुई पक्षबीच छलफल गरेर शनिबारसम्म सहमति जुटाउन आग्रह गरेका छन्।

‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याजसम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन,’ बैठकमा सभामुख घिमिरेले भने, ‘तपाईँहरू एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि म सहजीकरण गर्न तयार छु।’

गत बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसद अरुवद्ध गरेको थियो। प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको अभिव्यक्तिले एमाले सशंकित बनेको छ।  प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालीको मनमा आघात पुगेको एमाले सांसद रघुजी पन्तले बताएका थिए। एमाले केपी शर्मा ओलीलेसमेत प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने एमालेको अडान छ।

तपाईको प्रतिक्रिया