डुडापोखरा र गलसेन गाउँमा पुग्यो खानेपानी सुविधा

हिक्मतबहादुर नेपाली

दैलेख । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका दैलेखको गुराँस गाउँपालिका–२ स्थित डुडापोखरा र गलसेनका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । गाउँपालिकाले अघि सारेको ‘घर घर धारा, गुराँस सरकारको अभिभारा’ कार्यक्रम अन्र्तगत खानेपानीको सुविधा पाएपछि स्थानीयवासी हर्षित बनेका छन् । गुराँस गाउँपालिका, हेल्भेटास नेपालको एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र सोसेक नेपालको आर्थिक, प्राविधिक र सामाजिक सहजिकरणमा गत कात्तिकदेखि डुडापोखरा खानेपानी तथा सरसफाई योजना सुरु भएको थियो ।

कुल ५१ लाख ७६ हजार सात सय १६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको खानेपानी योजनाका लागि गाउँपालिकाको ११ लाख ७४ हजार चार सय ८ रुपैयाँ लगानी गरेको छ । यस्तै हेल्भेटास नेपालबाट बस्तुगततर्फ २७ लाख ३२ हजार ६ सय ४७ र नगद २ लाख २९ हजार ८ सय ६९ सहित २९ लाख ६२ हजार ५ सय १६ रुपैयाँ बजेट खर्च भएको छ । खानेपानी योजनाका लागि नीजि धारासहित समुदायबाट १० लाख ३९ हजार ७ सय ९१ रुपैयाँ श्रमदान भएको उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाबाट डुडापोखरा र गलसेनका ६५ घरपरिवार दलितसहित ७० घरधुरीका चार सय २९ जना प्रत्यक्ष लाभान्वित भएका छन् । डुडापोखरा लिफ्टिङ्ग खानेपानी तथा सरसफाई योजना मंगलवार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उपाध्यक्ष शिवाकुमारी खड्का, हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्ट, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापासहित स्थानीय उपभोक्ताको उपस्थितीमा योजना उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले ‘घर घर धारा, गुराँस सरकारको अभिभारा’ अभियान अन्र्तगत खानेपानी उपलब्ध भएपछि स्थानीय बासिन्दा खानेपानीको अभावबाट मुक्त भएको बताए । ‘हामीले बाचा गरे बमोजिम एक बर्ष भित्र डुडापोखराका जनताको बर्षाै बर्षदेखिको पानीको प्यास मेटाउन सफल भएका छौँ,’ अध्यक्ष बिसीले भने ‘क्रमशः घर घर धारा, गुराँस सरकारको अभिभारा कार्यक्रम अन्तर्गत विभिन्न बैकल्पिक विधिबाट भएपनि गुराँस भरका करिब ४ हजार ५ सय घरधुरी मा स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ ।’ उनले उपभोक्ता समिती, हेल्भेटास नेपाल, सोसेक नेपाल, र गाउँपालिकाको खानेपानी शाखालगाएतलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया