डुङ्गेश्वरका ३७० जनालाई रोजगारी, ३५७ घरमा खानेपानी सेवा विस्तार

डुङ्गेश्वर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन । तस्विर : नेपाल सवाल ।

हिक्मतबहादुर नेपाली

दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका तीन सय ७० जनाले आंशिक रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १८ वटा योजना सञ्चालन गरि दुई सय ४ जनालाई रोजगारी प्रदान गरिएको छ । यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पाँच वटा योजना सञ्चालन गरि एक सय ६४ सहित कुल तीन सय ७० जनालाई आंशिक रोजगारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजनामध्ये जेठ मसान्तसम्म ७५ प्रतिशत योजना सम्पन्न भएको छ । सम्झौता भएका एक सय ३१ वटा योजनामध्ये ९८ वटा योजना अर्थात ७५ प्रतिशत योजनाहरु सम्पन्न भईसकेको गाउँपालिकाका अध्यक्ष केसीले बताए । बाँकी योजनाहरु सम्पन्न हुने चरणमा रहेको उनको भनाई छ । अघिल्लो गाउँसभाबाट स्वीकृत २०७९/०८० को नीति, बजेट र कार्यक्रमका आधारमा जेठ मसान्तसम्मको प्रगति विवरणमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको उल्लेख छ । उक्त भवन यसै आर्थिक वर्षभित्र हस्तान्तरण हुने अध्यक्ष केसीले बताए ।

गाउँपालिकामा खानेपानी तथा सरसफाई स्वच्छता योजना निर्माण सुरु गरिएको बताउँदै अध्यक्ष केसीले पालिकामा पानीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गाउँपालिकाभर तीन सय ५७ घरधुरीमा नयाँ धारा जडान गरी खानेपानी सेवालाई थप विस्तार गरिएको छ । गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन स्वीकृत भईसकेको छ भने जग्गा प्राप्ती समेत भईसकेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट शिविर सञ्चालन, मृर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधी उपचार खर्च वापत पाँच हजारका दरले उपलब्ध गराईएको अध्यक्ष केसीले बताए । शिक्षा शाखाबाट गाउँ शिक्षा ऐन २०७४ को प्रथम संशोधन तथा गाउँ शिक्षा नियमावली २०७९, प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कायविधि २०७९ निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ठ विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालयलाई सम्मान गरेको अध्यक्ष केसीले बताए ।

कृषि विकास तथा पशुपंक्षी विकास शाखाबाट चार वटा कृषि उपज संकलन केन्द्र, आलु भण्डारणका लागि रष्टिक स्टोर निर्माण गरिएको छ । सूचना प्रविधितर्फ गाउँपालिकाले अनलाइन प्रणालीबाट राजश्व संकलन प्रणाली लागु गरेको छ । गाउँपालिका, सबै वडा, स्वास्थ्य संस्था र ६ वटा माध्यामिक विद्यालयमा ईहाजिरी जडान गरिएको, योजना सफ्टवेयर, वडा सिफारिस, संघसस्था दर्ताका लागि सफ्टवेयर लागु गरि डिजिटज गाउँपालिका बनाउने अभियानलाई जोड दिईएको गाउँपालिकाका अध्यक्ष केसीको भनाई छ ।

यसवर्ष बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रम अन्तरगर्त ४४ जना छोरीहरुको बैंक खातामा रकम जम्मा गरिएको छ । गाउँपालिकाले गर्भवती महिलासँग उपाध्यक्ष भेटघाट कार्यक्रममार्फत तीन सय १५ जना गर्भवती महिलाहरुसँग प्रत्यक्ष भेट गरि स्वास्थ्य परीक्षणसँगै पोषणयुक्त कोसेली वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया