पैतृक थलोमा प्रधानमन्त्री दाहाल


हिक्मतबहादुर नेपाली

दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक आफ्नो पैत्रिक थलो दह गाउँमा पुगेका छन् । प्रधानमन्त्री दाहाल बुधवार आफ्नो पैत्रिक थलो दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा पुगेका हुन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड दह गाउँ पुगेका हुन् । प्रधानमन्त्री दाहालले प्रतिष्ठानद्धारा निर्मित कुल शिरोमणि दाशुको पूर्णकदको प्रतिमा (शालिक) अनावरण गरेका छन् ।

दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा पूर्णकदको प्रतिमा (शालिक) स्थापना गरिएको हो । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तिर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको छ । दह गाउँ कुल शिरोमणि दाशुको सुरुको बसोबास रहेको स्थान हो । दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरु दाशुको सन्तति हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल विकास र समृद्धिको युगको यात्रामा अघि बढेको बताएका छन् । १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति भएको र अन्य रणनीतिक योजनाहरु अघि बढिसकेकाले देश विकास र समृद्धिको युगमा प्रवेश गरिसकेको प्रधानमन्त्रीको भनाई छ । राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।

‘म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाली जनता समक्ष केहि सपनाहरु बाँडेको थिएँ, तर, कारण बस् त्यो पुरा गर्न सकिएन, दोस्रो पटक प्रधानमन्त्री हुँदा महत्वपूर्ण काम पुरा गर्न सफल भएँ, अहिले तेस्रो पटक प्रधानमन्त्री भएको छु, यो पटक आर्थिक संकटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ संकल्प सहित अघि बढेको छु,’ उनले भने । मन्त्रिपरिषद्को पहिलो बैठक देखिनै आर्थिक संकट समाधान, राष्ट्रको एकता र जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर हुने गरि लागिपरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । सोहि अवसरमा प्रधानमन्त्री दाहाललाई अभिनन्दन समेत गरिएको छ ।

दाशुको प्रतिमा स्थापनाका लागि दह गाउँका कविप्रसाद दाहालले जग्गा उपलब्ध गराएका छन् । स्थानीय स्तरमा प्रतिमा निर्माण तथा संरक्षण समिति समेत गठन भएको प्रतिष्ठानले जनाएको छ । दैलेखमा स्थानीय स्तर प्रतिमा निर्माण र सम्बद्र्धन समितिको अध्यक्ष चन्द्रबहादुर दाहाललाई चयन गरिएको थियो । प्रतिष्ठानले दह गाउँको भैरव मन्दिर नजिकै पूर्णकदको प्रतिमा (शालिक) दाशु तीर्थस्थद निर्माणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो ।

यसैबिच प्रधानमन्त्री प्रचण्डले दैलेखकाे पञ्चकाेशी क्षेत्रमा भईरहेकाे पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननकाे अवस्थाबारे अनुगमन तथा निरिक्षण गरेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका छन् ।

तपाईको प्रतिक्रिया