प्रधानमन्त्री दाहाल दैलेखको दह गाउँ आउँदै

हिक्मतबहादुर नेपाली

दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दैलेख आउने भएका छन् । प्रधानमन्त्री दाहाल भोली जेठ ३१ गते बुधवार दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा आउन लागेका हुन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागि हुने उनि दुल्लुस्थित दह गाउँमा आउन लागेका हुन् ।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँस ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री दाहाल दैलेख आउने कार्यक्रम तय भएको छ ।

दह गाउँ दाशु सन्ततिहरु दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरुको आदीभूमि हो । कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्णकदको प्रतिमा (शालिक) स्थापना गरिएको दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका सल्लाहकार गंगाराम दाहालले बताए । उनका अुनसार कुल शिरोमणि दाशुको प्रतिमा स्थापना गरिएको र प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यतामा प्रतिमा अनावरण गर्ने कार्यक्रम छ ।

उक्त प्रतिमा जेठ २५ गते काठमाडौंबाट देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पु¥याईएको थियो । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तिर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको प्रतिष्ठानका सल्लाहकार दाहालले बताए ।

प्रतिमा स्थापनाका लागि दह गाउँका कविप्रसाद दाहालले जग्गा उपलब्ध गराएका छन् । स्थानीय स्तरमा प्रतिमा निर्माण तथा संरक्षण समिति समेत गठन भएको प्रतिष्ठानले जनाएको छ । दैलेखमा स्थानीय स्तर प्रतिमा निर्माण र सम्बद्र्धन समितिको अध्यक्ष चन्द्रबहादुर दाहाललाई चयन गरिएको थियो । प्रतिष्ठानले दह गाउँको भैरव मन्दिर नजिकै पूर्णकदको प्रतिमा (शालिक) दाशु तीर्थस्थद निर्माणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो ।

तपाईको प्रतिक्रिया