आर्थिक समृद्धि सहितको सामाजिक तथा सांस्कृतिक क्रान्ति जरुरी


पूर्णबहादुर वि.क. (नेपाली)

जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको पनि आज १६ बर्ष पुगेछ । हिजो जात सोध्नेहरू आज थर सोध्छन् । जातीय विभेदको स्वरूप बदलिएको छ तर विभेद कायमै छ । अन्तरजातीय बिवाह गर्न प्रयास गर्न खोज्नेहरू नवराज विक भए भने कोही बलात्कारको आरोपमा कारागारमा छन् । अधिकांश द्वन्द्वकालिन अन्तरजातीय विवाहहरू भत्किसकेका छन् । तत्कनलिजन माओवादी जनयुद्ध होस या अन्य क्रान्ति, हरेक राजनितीक दलले दलितका मुद्दा र छुवाछुत तथा जातीय विभेदलाई आन्दोलन सफल पार्न तथा समाजको उपेक्षित वर्ग र समुदायलाई उसको भावनासंग खेलेर आन्दोलनको एजेन्डा त बनाए तर गन्तव्यमा कसैले पु¥याएनन् तथा पु¥याउन नै चाहेनन् ।

२०४६ को जनआन्दोलन, दस वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनले चाहेर नचाहेर, द्वन्द्वरत पक्षको शक्ति केन्द्रिकरण गर्न दलित लगायत जातिय विभेद र छुवाछूतका मुद्दालाई मुख्य एजेण्डा बनाए । जसको कारण हरेक युद्द वा आन्दोलनमा महिला, जनजाति, दलित तथा पछिडीएको क्षेत्रका नागरिकको व्यापक सहयोग र सहभागिता भयो । जसले एक हदसम्म नागरिकमा विभेद र असमानताका विरूद्व चेतना विकास र जातीय विभेद तथा छुवाछूत न्यूनीकरणमा काम गरेको पाइन्छ ।

तथापी अहिले तिनै दलका कुनैपनी औपचारिक फोरम जातीय विभेद र छुवाछूतका विषयमा छलफल कुराकानी नै हुँदैनन् तिनका दलित लक्षित भातृसंगठन बाहेक । अझ कतिपय ती दलका पदाधिकारी, नेता कार्यकर्ता त अहिले जातीय छुवाछुत र विभेदका विषय सुन्नसम्म चाहदैनन् । जहाँ अहिले यो विभेद र छुवाछुतको मुद्दा दलित समुदायको मात्र मुद्दा हो भन्ने बुझाइ रहेको पाइन्छ । जबसम्म राज्य संयन्त्रले यसलाई सिंगो देशको समस्या वा मुद्दा मान्दैन तबसम्म नेपालको विकास र समृद्धीको मार्ग त्यति नै चुनौतीपूर्ण हुनेछ ।

विभक्त मानसिकताले भरियको समाजले कहिल्यै पनि गुणात्मक र अपेक्षित परिमाणात्मक नतिजा दिन सक्दैन । कानून बनाउँदैमा, एकदुई जना दोषि करार हुँदैमा खासै तात्विक फरक पर्ने अवस्था छैन् । तसर्थ विद्यमान कानूनको कडाईको साथ कार्यान्वयन गरिनु पर्दछ भने अर्काेतर्फ विभेद र उपेक्षित समुदायको आवाजलाई राज्य नै सशक्त बनाइनु पर्दछ । यो संगसंगै नागरिक चेतनाको क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ । जातिय विभेदको जरो विशेष गरेर हिन्दु धर्मभित्रको जात व्यवस्थामा रहेको छ । जसलाई धार्मिक संरक्षण र अभिभावकत्व प्राप्त भईरहेकै छ । यदी यो २१ औ शताब्दीको कलंकलाई जरो देखि नै फाल्ने हो भने जात व्यवस्थालाई ढाल्न जरूरी छ भने हिन्दु धर्ममा व्यापक सुधार जरूरी छ । यसर्थ अब क्रान्तिको कार्यदिशा आर्थिक समृद्धि सहितको सामाजिक तथा सांस्कृतिक क्रान्ति हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया