माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा एक युवा बेपत्ता

हुम्ला : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन्। गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन्। बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताए।

अदानचुली गाउँपालिका गल्फगाडको रैसेडी खोला नदीमा जाल हाल्नका लागि पौडी खेलेर नदी पार गर्ने क्रममा कर्णाली नदीबीचबाट बेपत्ता भएको प्रहरी चौकी इन्चार्ज गिरीले बताए।
रैसेडी कर्णाली नदीमा बिहीबार बेपत्ता भएका बुढाको खोजीकार्यका लागि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सुरक्षाकर्मी, स्थानीयवासी, कामदार सबैले खोजीकार्य गरिरहेको बताइएको छ।

बेपत्ता भएका बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालक हुन्। बुढाको श्रीमती, दुई छोरा र एक छोरीका छन्। बेपत्ता बुढा अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया