सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज  परेको छ ।

पाटन उच्च अदालतमा हुने पेसीमा आजै बहस र फैसला हुनसक्ने सम्भावना रहेको छ। गत साता नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। उनका कानुन व्यवसायीले गत २९ मंसिरमा पुनरावेदन गरेका थिए।

आफू निर्दोश भएको दाबी गर्दै आएका लामिछानेले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका छन्। नाबालिग जबरजस्ती करणीको आरोपित लामिछानेलाई कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

सन्दीपका कानुन व्यवसायीले दिएको निवेदनमा किशोरीको उमेर १८ वर्षमाथि रहेको दाबी गरिएको छ। थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरूले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए।

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीपलाई प्रहरीले गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो। सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।

तपाईको प्रतिक्रिया