प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन्। बुधबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११०  मत खसेको हो। प्रतिनिधिसभामा २६८  जना उपस्थित थिए।  एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्। कांग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले मत दिएनन्।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका हु्न्।  प्रचण्डले यसअघि  २६ पुस  २०७९ मा पहिलो पटक र  ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।  गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिएका हुन्।

नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,एकीकृत समाजवादी,नागरिक उन्मुक्ति पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई भोट हाल्न ह्विप नै जारी गरेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक थियो।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८,एमालेका ७९,माओवादी केन्द्रका ३२,रास्वपाका २१,राप्रपाका १४,जसपाका १२ र नेकपा एकीकृतका १०,जनमतका ६,लोसपाका ४ जना,नागरिक उन्मुक्तिका ४,नेपाल मजदुर किसान पार्टीका १,राष्ट्रिय जनमोर्चाका १, स्वतन्त्र ३ जना सांसद छन्।  जसमध्ये कांग्रेस सांसद टेकबहादुर गुरूङ र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् भने इलाम-२ मा सुवास नेम्बाङको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया