डुङ्गेश्वरका सबै वडामा घुम्ती शिविर


हिक्मतबहादुर नेपाली
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाको सबै वडामा घुम्ती शिविर सञ्चालनमा ल्याईएको छ । गाउँपालिकाले नागरिकलाई घरदैलोमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको हो । गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्कीका अनुसार वडा नम्बर १ को चुप्राबाट फागुन २९ देखि सुरु भएको शिविर चैत्र ५ गते वडा नम्बर ६ को माथिल्लो डुङ्गेश्वरमा पुगेर सकिनेछ । वडापिच्छे सञ्चालन गरिने शिविरमा सयौँ नागरिक लाभान्वित भएका छन् । गाउँपापलिकाबाट सञ्चालन गरिने सेवा प्रवाहलाई सेवाग्राहीको घरदैलोमा गई सेवा प्रवाहलाई थप प्रभावकारी रुपमा कार्यान्वन गराउने निर्णय अनुसार शिविर चलाएको लेखा अधिकृत कार्कीको भनाई छ ।

‘शिविरमा आर्थिक वर्ष ०८०÷०८१ मा कार्यान्वयन हुने योजनाहरुको सम्झौता, उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशुपंक्षी फर्म दर्ता तथा नविकरण लगाएतका सेवा प्रवाह भईरहेको छ,’ कार्कीले भने । सम्झौता भईसकेका र काम सम्पन्न भईसकेका योजनाको भुक्तानी पनि शिविरमा वडामै भईरहेको छ । गाउँपालिकामा पुगेर पाउने सेवा वडामै पाउँदा सहज भएको स्थानीय नागरिकहरु बताउँछन् । स्थानीय रमेश हिरोजक भन्छन् ‘पालिकाको केन्द्रसम्म पुग्न समय लाग्थ्यो, गाडी भाडा, खानामा पनि उत्तिकै खर्चिलो हुन्थ्यो, शिविरमार्फत वडामै सेवा पाउँदा सजिलो भयो,’ उनले भने । वडामै योजना सम्झौता देखि व्यवसाय दर्ता तथा नविकरणको सेवा पाउँदा झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको हिरोजकले बताए ।

गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीको नेतृत्वमा उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, विषयगत शाखाका कर्मचारीहरु शिविरमा खटिएका छन् । गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा वडामै पुगेर प्रवाह गर्दा नागरिकहरु उत्साहित भएको प्रमुख प्रशासकीय अधिकृत खराल बताउँछन् । ‘गाउँपालिकाले प्रवाह गर्ने सेवा जनताको घरदैलोमा पुगेर काम गर्दा सेवाग्राहीहरु उत्साहित र खुसी भएको पाएका छौँ,’ खरालले भने ।

गाउँपालिका कार्यालयको सेवालाई सरल र सहज ढंगबाट प्रवाह गर्न तथा जनताका समस्यालाई सोही ठाउँबाट समाधान गर्न घुम्ती शिविर आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए । ‘घुम्ती सेवाबाट नागरिकले ठूलो राहतको महसुस गरेको पाइयो,’ उनले भने । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रसम्म पुग्न समय लाग्ने र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरेको अध्यक्ष केसीले बताए । ‘गाउँमै पुगेर सेवा प्रवाह गर्दा नयाँपनको आभास भएको र नमुना काम भएको प्रतिक्रिया पाएका छौं,’ उनले भने । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ को तुलनामा वडा नम्बर १, २ र ३ बाट गाउँपालिकाको कार्यालयसम्म पुग्न टाढा पर्छ । पालिकाको केन्द्रसम्म पुग्न समय लाग्ने र खर्चिलो हुने भएकाले पनि घुम्ती शिविर चलाएर वडाबाटै सेवा प्रवाह गरिएको अध्यक्ष केसीको भनाई छ ।

तपाईको प्रतिक्रिया