राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत आएको हो। दाहालको पक्षमा बहुमत आएपछि उपाध्यक्ष उर्मिला अर्यालले उनलाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी हुन्। बैठकमा ५६ जना सांसद उपस्थित थिए।

यसअघि नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उनको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो। शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका शेखर कुमार सिंह थिए।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल,नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका थिए। दाहाल माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन्। दाहाल २०७८ सालमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल,रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्षमा एमालेलाई दिने सहमति भएको थियो।

तपाईको प्रतिक्रिया