सामुदायिक विद्यालयलाई नीजि विद्यालयको सहयोग

नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिँदै ।

सुर्खेत । सुर्खेतको एक नीजि विद्यालयले सामुदायिक विद्यालयलाई सहयोग उपलब्ध गराएको छ । वीरेन्द्रनगर नगरपालिका–१ को बालन शिक्षा एकेडेमीले यहाँको नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई सहयोग उपलब्ध गराएको हो । एकेडेमीको छैठौँ वार्षिक उत्सवको अवसरको आयोजित एक कार्यक्रममा विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको हो । एकेडेमीका प्रिन्सीपल रचना सुनारका अनुसार वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सजावट, खादामाला हुने फजुल खर्च नगरी ३६ हजार मुल्य बराबरको प्रिन्टर खरिद गरि हस्तान्तरण गरिएको हो । ‘उक्त विद्यालयमा कम्प्युटर भएपनि प्रिन्टर नहुँदा समस्या परिरहेको रहेछ, विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुगोस् भन्ने उदेश्यले हामीले प्रिन्टर सहयोग गरेका हौँ,’ सुनारले भनिन् ।

नीजि विद्यालय र सामुदायिक विद्यालयबिच प्रतिस्पर्धा नभई समन्वय, सहकार्य र हातेमालो गरेर शिक्षा क्षेत्रको विकास गर्नुपर्छ भन्ने मान्यतासहित आफुहरुले काम गरिरहेको एकेडेमीका संस्थापक राज विश्वकर्माले बताए । आगामी वर्षहरुमा पनि नजिकका सामुदायिक विद्यालयहरुलाई सहयोग गर्ने योजना रहेको विश्वकर्माको भनाई छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शान्ति विशुन्केले नीजि विद्यालयबाट सहयोग पाउँदा खुसी लागेको बताइन् । ‘नीजि विद्यालयले सामुदायिक विद्यालयलाई यसरी सहयोग गर्ला भनेर हामीले सोचेकै थिएनौँ, तर बालन शिक्षाले सहयोग गरेको छ, यसले हाम्रो विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिमा ठूलो सहयोग पुग्नेछ,’ उनले भनिन् ।

२०७५ मा स्थापना भएको बालन शिक्षा एकेडेमीले हरेक वर्ष १५ देखि २० जना बालबालिकालाई पूर्ण र आंशिक छात्रबृतिमा पढाउँदै आएको छ । जोखिममा परेका, कमजोर आर्थिक अवस्थाका कारण शिक्षा पाउनबाट बञ्चित भएका र अभिभावक विहिन बालबालिकालाई एकेडेमीले निशुल्क पढाउँदै आएको प्रिन्सीपल रचना सुनारले बताइन् । ‘एकेडेमीमा अध्ययनरत बालबालिकाका अभिभावकहरु ज्याला मजदुरी गरेर घरखर्च चलाउने, छोराछोरीको पढाई खर्च जुटाउने गर्नुहुन्छ, यस्तो अवस्थामा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन् भनेर एकेडेमीले न्यानो कपडा, झोला तथा शैक्षिक सामग्री पनि उपलब्ध गराउने गरेको छ,’ उनले भनिन् । विभिन्न निकाय र सहयोगी व्यक्तिहरुबाट सहयोग जुटाएर बालबालिकालाई न्यानो कपडा, झोला तथा शैक्षिक सामग्री सहयोग गर्ने गरेको उनको भनाई छ ।

संस्कार सहितको गुणस्तरिय शिक्षाका लागि विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरिरहेको एकेडेमीले सोमवार छैठौँ वार्षिक उत्सव समेत मनाएको छ । वीरेन्द्रनगर–१ का वडाध्यक्ष दिनेश खत्री, नगरको शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्मा, बाल रोग विशेषज्ञ डा. नवराज केसी, सामुदायिक तथा नीजि विद्यालयका शिक्षक, अभिभावक लगाएत सहभागीतामा एकेडेमीले वार्षिक उत्सव मनाएको हो ।

तपाईको प्रतिक्रिया