जाजरकोट भूकम्प : १ सय ५७ जनाको मृत्यु

जाजरकोट:  शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १ सय ५७ को ज्यान लियो। घाइतेको संख्या फरक–फरक भए पनि समाचार तयार पार्दासम्म करिब २ सयको संख्यामा उपचारत छन् । क्षतिको मूल्यांकन बाँकी नै छ। २०७२ को महाभूकम्पपछि पनि धैरै भूकम्प र सैयौं परकम्प आए। तर, पछिल्लो भूकम्प घातक बन्यो।

गत असोज १६ मा पनि बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। तर, यसले क्षति कम गर्‍यो, कारण दिनको समय थियो। महिना दिनमै पुनः पश्चिम नेपालमा ठूलो भूकम्प गएपछि पश्चिममा कायम भूकम्पीय जोखिमप्रति पुनः ध्यान तानेको विज्ञ बताउँछन्। किनभने वर्षौंयता भूकम्पले पश्चिमलाई हल्लाई रहेको छ। विज्ञका अनुसार पश्चिम नेपालको भू–सतहमुनि पाँच सय वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको छ। त्यसले आठ वा त्योभन्दा बढी म्याग्निच्युडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने उनीहरू दाबी गर्छन्।

पछिल्लो भूकम्प रातको समयमा गएकाले अधिकांश नागरिक सुतेको समय थियो। त्यसैले ठूलो नोक्सानी भएको हो। रातको समय भएका कारण उद्धारमा पनि कठिनाइ भएको थियो। कतिपयले समयमै उपचार नपाउँदा ज्यान गुमाएको प्रहरीको भनाइ छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जाजरकोट र रुकुमपश्चिममा गरी शनिबार बेलुकीसम्म १ सय ५७ जनाको मृत्यु भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले शनिबार साँझसम्म जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको बताए। यस्तै जाजरकोटको छिमेकी जिल्ला रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी र छेडागाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकामा क्षति भएको छ। यस्तै रुकुमपश्चिमका आठबिसकोट र सानीभेरी नगरपालिकामा क्षति भएको हो। यस क्षेत्रका अधिकांश घरहरू भत्किएका छन्। रातको समयमा आएको भूकम्पका कारण सुतेका मानिसहरू घरबाहिर निस्कनै नपाएको स्थानीयको भनाइ छ। भूकम्पपछि घरहरू भत्किएको र धेरैजना त्यसमा पुरिएको प्रहरीको भनाइ छ।
जाजरकोटमा ज्यान गुमाउने मध्येभेरी नगरपालिकामा पुरुष १४ जना, महिला २८ जना गरी ४२ जना, नलगाड नगरपालिकामा पुरुष १६, महिला ३९ गरी ५५ जना, कुशे गाउँपालिकामा पुरुष ३ र महिला ४ गरी ७ जना र छेडागाड नगरपालिकामा १ जना महिला छन्।

प्रहरीका अनुसार जाजरकोटमा १ सय ६ जना घाइते भएका छन्। जसमा ५ जना उपचार पनि शनिबार नै घर फिर्ता भएका छन्। त्यस्तै रुकुमपश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। प्रदेश प्रहरी प्रवक्ता भट्टराईका अनुसार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४२ जना र सानीभेरी नगरपालिकामा १० जना गरी ५२ जनाको मृत्यु भएको हो। रुकुमपश्चिममा भने ७९ जना घाइते भएका छन्। शनिबार दिनभर उद्धार तथा घाइतेको उपचारमा नेपाली सेना, प्रहरी र स्थानीयहरू जुटेका थिए।

तपाईको प्रतिक्रिया