प्रदेश अधिवेशनको तयारीमा जुट्यो कर्णाली एमाले

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारीमा जुटेको छ । प्रदेश कमिटीको बिहीबार बसेको कार्यालय बैठकले प्रतिनिधिको संख्या, छनोटको आधार र मापदण्ड टुंगो लगाएको हो । एमालेको प्रदेश अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरस्थित सिटीहलमा हुँदै छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

कार्यालय बैठकले अधिवेशन भव्यताका साथ सफल पार्न प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश अध्यक्ष शाहका अनुसार अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधि छनोट भदौ ३० गते एकैसाथ गरिनेछ ।

भूगोलतर्फ १०० पार्टी सदस्य बराबर १, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुनेछन् । त्यस्तै एक तिहाई महिला प्रतिनिधि छनोट गर्नुपर्नेछ । प्रतिनिधि छनोटका लागि पालिका, दलिततर्फका लागि प्रदेश निर्वाचन क्षेत्र रहने र दलित पार्टी सदस्यले भूगोल वा दलितमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् । प्रतिनिधि छनोटको व्यवस्थापन भूगोलका लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । एमालेको प्रदेश अधिवेशनमा २० वटा जनवर्गीय संगठनको समेत प्रतिनिधित्व रहेनछ ।

प्रदेश प्रचार तथा प्रकाशन विभागद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले प्रथम प्रदेश अधिवेशनको नारा र लागो सार्वजनिक गरे । दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं भन्ने नाराका साथ सम्पन्न हुने अधिवेशनका लागि सूर्य चिह्न, काँक्रेविहार र रारा अंकित तस्बिरसहितको लोगो निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया