नेपाल क्रिकेट संघ कर्णालीको अध्यक्षमा खड्का


दैलेख । नेपाल क्रिकेट संघ (क्यान) कर्णालीको अध्यक्षमा पदमबहादुर खड्का चयन भएका छन् । बुधवार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित क्यान कर्णालीको प्रथम साधारणसभा तथा अभिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । क्यानले कर्णालीलाई मान्यता दिएसँगै कर्णालीमा पहिलो पटक खड्का निर्विरोध चयन भएका हुन् ।

कर्णालीलाई लुम्बिनीको मातहतमा राखेर कर्णालीमा क्रिक्रेटका गतिविधिहरु सञ्चालन गरिदै आएकोमा खड्काले कर्णालीलाई छुट्टै मान्यता दिनुपर्ने अडान राख्दै आएका थिए । खड्काको लामो प्रयासपछि क्यानले कर्णालीलाई मान्यता दिएको हो । खड्काको पहलमा कालिकोट, दैलेख, रुकुमपश्चिम र सल्यानमा नेपाल क्रिकेट संघको जिल्ला शाखा विस्तार गरिएको थियो ।

क्यान कर्णालीको उपाध्यक्षमा कालिकोटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र कोषाध्यक्षमा सुर्खेतका सूर्य थापा चयन भएका छन् । पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिमा सदस्यहरुमा बालकुमार नकाल, कुलप्रसाद ओली (रुकुम), सविन हमाल, बुलन्द बाबु सेजुवाल (सल्यान), दमनराज शाही (कालिकोट), प्रकाश भुषाल (सुर्खेत), पवनकुमार थापा, समुन्द्र शाही र मनोज थापा (दैलेख) रहेका छन् ।

२०५४ ताका सुर्खेतमा क्रिकेट संघ प्रस्ताव गरेपनि २०६२÷६३ मा आएर क्यानले मान्यता दिएको थियो । दुई दशक सुर्खेत क्रिकेट संघको नेतृत्व सम्हालेका खड्काले २०७४ मा सुर्खेत क्रिकेट संघको नेतृत्व श्रीधर केसीलाई हस्तान्तरण गरेका थिए । संघको कर्णाली संयोजक रहेका खड्का हाल नेपाल क्रिकेट संघको केन्द्रीय सदस्यसमेत हुन् ।

तपाईको प्रतिक्रिया