कर्णालीमा नियमित हवाई उडान गर्न प्रदेश सरकारले पठायो प्राधिकरणलाई पत्र

दैलेख : कर्णालीमा हवाई उडान नियमित गरिदिन कर्णाली प्रदेश सरकारले नेपाल नागरिक उड्यन प्राधिकरणसँग गुहार मागेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्राधिकरणलाई पत्र लेख्दै कर्णालीमा नियमित उडानका लागि आग्रह गरेको हो । साउन १२ गते प्राधिकरणले हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै विशेषगरी दुर्गमका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने नियम लागू गरेको थियो ।

कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी दुर्गम जिल्लामा भरपर्दो सडक सञ्जाल  छैन् ।वर्षातको समयमा सडक अवरुद्ध भइरहने तथा यातायातको प्रमुख साधन हवाई उडान मात्रै हो । प्राधिकरणको उक्त निर्णयले कर्णालीमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार प्रभावित भएको छ । प्रदेशमा पर्यटन व्यवसायमा समेत प्रतिकुल प्रभाव परेको छ ।

प्रदेश सरकारले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ,‘साउन १२ को निर्णयानुसार अपरेशन आवरको समय भन्दा अघिपछि विशेष गरि जुलाई, अगस्ट र सेप्टेम्बरसम्मको अवधीमा अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमति नदिने भन्ने बुझिन आएकोले यसबाट कर्णाली प्रदेशका नागरिकको दैनिक जीवनयापनमा समेत कष्टकर हुने देखिन्छ ।’

प्रदेश सरकारले प्राधिकरणले गरेको उक्त निर्णय पुर्नविचार गर्न आग्रह गरेको हो । मन्त्रालयका सचिव डा.विनोदप्रसाद देवकोटाले कर्णाली प्रदेशका जिल्लामा मौषमको अनुकूलता हेरी हवाई उडान सञ्चालन नियमित गर्न प्राधिकरणलाई आग्रह गरेको बताए ।

नेपाल नागरिक उड्यन प्राधिकरणले कर्णालीका पाँच वटा विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाईसेवा प्रभावित भएको छ । जसका कारण ती जिल्लामा हुने दुर्घटनाका घाइते, बिरामी र गर्भवतीको उद्धारमा समस्या भएको छ ।  सडकको सहज पहुँच नभएका हुम्ला, डोल्पा र मुगुका सर्वसाधारणले हवाइ सेवा उपभोग गर्न पाएका छैनन् ।

प्राधिकरणले गरेको निर्णयविरुद्ध नेकपा एमालेले मंगलवारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले हिमाली जिल्लामा लगाईएको हवाई उडानमाथिको प्रतिबन्ध हटाउन माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो । नागरिकलाई सास्ती भएको र उपचारको अभावमा घाइते तथा बिरामीको मृत्यु हुन थालेको भन्दै एमालेले तत्काल यो निर्णय खारेज गर्न माग गरेको छ । नागरिक उड्यन प्राधिकरणले गरेको उक्त निर्णय खारेज नगरेसम्म कर्णालीमा संसद चल्न नदिने एमालेले जनाएको छ ।

प्रदेशसभाको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नागरिक उड्यन प्राधिकरणको हवाइसेवा उडान सम्बन्धी नयाँ मापदण्डले नागरिकहरु बिचल्लीमा परेको बताए । ‘दुर्गममा बिरामीले उपचार नपाएर मृत्यु भइरहेको छ, विपद्मा परेकाहरुको उद्धार गर्न सकिएको छैन । तत्काल हवाइसेवामा लगाईएको प्रतिबन्ध खारेज गरियोस्,’उनले भने । क्यानको अव्यवहारिक निर्णय नसच्चिएसम्म संसदका कुनैपनि काम कारवाही अगाडि बढाउन नदिने नेता कँडेलले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया