‘दिमाग खराब’ को छायांकन सकियो

काठमाडौं । निर्देशक निश्चल बस्नेतले सिनेमा ‘दिमाग खराब’ को छायांकन ३६ दिनमा पूरा गरेका छन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा सिनेमाको अन्तिम सिन खिचिएको हो । सेड्युल भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको सिनेमाको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । सिनेमाकी प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा सेअर गरेको सुटिङ ‘प्याकअप’पछिको सामुहिक तस्विरको पृष्ठभूमिमा लोकतान्त्रिक जनविश्वास पार्टीको बोर्ड देखिन्छ । जनता र शक्तिको कथामा बनेको सिनेमा आगामी कात्तिक २४ गते प्रदर्शन हुँदैछ ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए ।

स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमामा काम गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोसँगै सिनेमा ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए । ‘दिमाग खराब’मा आकाश बरालको पटकथा लेखन रहेको छ । निश्चलको कमब्याक सिनेमा भएकाले दर्शकमा अपेक्षा उच्च छ ।

तपाईको प्रतिक्रिया