कर्णालीले जित्यो पहिलो पल्ट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधि

सुर्खेत । कर्णाली प्रदेशले पहिलो पल्ट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रामजानकी क्रिकेट मैदान भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो उपाधि जितेको हो ।

झण्डै ५ वर्षदेखि राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णाली प्रायजसो प्रतियोगितामा समूह चरणबाट नै बाहिरिने गर्थ्यो  । घरेलु क्रिकेटमा कब्जा गर्दै आएका ३ विभागीय टोली सहभागी नहुँदाको फाइदा कर्णालीले उठाएको हो । अन्डरडग कर्णालीले जितका लागि सुदूरपश्चिमलाई १४१ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याएको सुदूरपश्चिम कर्णालीका बलरसामु टिक्न नसकी ८९ रनमा अल आउट भयो ।

सुदूरका लागि कप्तान नारायण जोशीले केही समय क्रिजमा टिक्ने प्रयास गर्दै १५ रन जोडे । अन्तिम विकेटका रुपमा नारायण जोशीलाई १८.१ ओभरमा प्रकाश जैशीले क्याच आउट गराउँदै टिमको पहिलो उपाधि पक्का गरे । कर्णालीका लागि युनिश विक्रम सिंहले सर्वाधिक ३ विकेट लिए ।

ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले २७ बलमा २१ रन बनाए । उनीपछिका ओपनर दिवान पुन डकआउट भए ।अर्जुन घर्ती पनि डक आउट भएपश्चात कर्णाली धरमराएको थियो । तर त्यसपछि आएका दिपेन्द्र रावतले कर्णालीको ब्याटिङ उकासे । उनले ५० बलमा ४९ रन बनाए ।

हिमान्सु शाहीले २१ बलमा २५ रन बनाए । कर्णालीका लागि विपिन रावलले पछिल्लो ओभरमा आक्रामक खेल प्रदर्शन गरे उनले १३ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए । प्रकाश जैशी शुन्य र दिनेश अधिकारी ११ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि नरेन साउद र कप्तान नारायण जोशीले समान २–२ विकेट लिए । अनलाइनखबर

तपाईको प्रतिक्रिया