कर्णाली नदिमा जल उत्पन्न प्रकोप प्रतिकार्य अभ्यास

दैलेख : कर्णाली नदिमा जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा प्रदेशस्तरिय प्रतिकार्य अभ्यास गरिएको हो । आठबीस नगरपालिका–४ राकमकर्णाली स्थित कर्णाली नदिमा उक्त अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । वर्षायाममा हुन सक्ने सम्भावित जल उत्पन्न प्रकोपका घटना न्यूनिकरणका लागि नदिमा नमूना अभ्यास गरिएको कोइरालाको भनाई छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीसहितको संयुक्त टोलीले नदिमा अभ्यास गरेको हो ।

बाढीमा परेकाहरुलाई उद्धारका क्रममा डुंगा पल्टिदाँ कसरी जोगिने, पानीमा करेन्ट प्रवाह भएको अवस्थामा कसरी बच्ने लगाएतका विषयमा अभ्यास गरिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखका डिएसपी देवराज विस्टले बताए । उनका अनुसार उद्धारकर्मीले अपनाउनुपर्ने उपाय, पानीको सतहमूनि रहेको मृत शरिरलाई उद्धार तथा खोजीका उपाय सम्बन्धी पनि अभ्यास गरिएको डिएसपी विस्टले जानकारी दिए । विपद्मा परेकालाई उद्धार, घाइतेहरुको प्राथमिक उपचारदेखि थप उपचारका लागि सरकारी संयन्त्रबीच समन्वय र सहकार्यका लागि समेत अभ्यास गरिएको थियो ।

दैलेखका ११ वटै स्थानीय तह, युएसएआईडी, सेभ द चिल्ड्रेन, नेपाल रेडक्रस सोसाइटी, एभरेष्ट क्लब, सेवक दैलेख लगाएतका निकायको सहकार्यमा प्रतिकार्य अभ्यास गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गगनबहादुर हमालले वर्षायाममा हुने सम्भावित घटनालाई न्यूनिकण, उद्धारका लागि कर्णाली नदिमा अभ्यास गरिएको बताए । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आगलागी, बाढीपहिरो, डुवान जस्ता प्राकृतिक विपद्का् जोखिम रहेको बताए । विपद् जोखिम न्यूनिकरणमा प्रदेश सरकार सजग भई तयारी अवस्थामा रहेको मन्त्री जिसीको भनाई छ ।

नदि किनारमा ६ जिल्लाको सुरक्षा बैठक

जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी घटना अभ्याससँगै कर्णाली नदि किनारमा कर्णाली र सुदुरपश्चिम प्रदेशको ६ जिल्लाको सुरक्षा बैठक समेत बसेको छ । कर्णालीका दैलेख, सुर्खेत, कालिकोट, जाजरकोट, सल्यान र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षा कायम, लागु औषध ओसार पसार तथा दुव्र्यसनि नियन्त्रण लगाएतका विषयमा छलफल भएको छ ।

बैठकमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु सहभागि थिए । ६ जिल्लाको साझा समस्यालाई सामुहिक रुपमा समाधानका लागि बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया