वीरेन्द्रनगरमा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ प्रतियोगिता हुने

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा रेस्लिङ प्रतियोगिता हुने भएको छ । वीरेन्द्रनगरमा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ प्रतियोगिता हुने जनाइएको हो । ७२ औ‌ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको रिङ रेस्लिङ विभागको आयोजनामा अगामी जेठ १३ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा महिला र पुरुषले प्रतिस्पर्धा गर्न पाउने एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले जानकारी दिए । उनका अनुसार लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुनेछ । महिलातर्फ तन्नु र आकृति भिड्नेछन् भने ट्याग टीम भिडन्त टुप्पी ग्याङले सुजलको टीमसँग तथा एक्स हिरोका बीच हुने जनाइएको छ ।

हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्नेछन् । लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो सँगै नुवाकोटे टाइगर र किङ रोर्वोटको हेभीवेटतर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा हेभीवेट च्याम्पियनले एक लाख ५ हजार, हार्डकोर च्याम्पियनले ७५ हजार, मिडल वेट च्याम्पियनले ७० हजार, लेडिज वेट च्याम्पियनले ६० हजार, ट्याग टीम च्याम्पियनले ५० हजार र लाइट वेटतर्फको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विजेतालाई नगदसहित मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया