नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता

हिक्मतबहादुर नेपाली
दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारीले नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका र वडाकार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै छिटोछरितो, सर्भसुलभ तथा सहज ढंगबाट नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता उनिहरुको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक योजना कार्यक्रम तथा बजेट र पालिकाबाट प्रदान गरिएको सेवा प्रवाह सम्बन्धि वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधि र कर्मचारीले यस्तो प्रतिबद्धता घोषणा गरेका हुन् ।

गाउँपालिकाको आयोजनामा जेम मिडिया ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरले सहजिकरण गरेको कार्यक्रममा ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । उनका अनुसार गाउँपालिकाबाट कार्यान्वयन हुने विकास योजनालाई दिगो बनाउने गाउँपालिकाले घोषणा गरेको छ । गाउँपालिकाले उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने योजनालाई थप प्रभावकारी बनाउन उपभोक्ता समितिको काम, कतव्र्य र अधिकारबारे अभिमुखिकरण गर्ने भएको छ ।

सूचना माग्ने र पाउने नागरिकको मौलिक अधिकारलाई ख्याल गर्दै सूचना अधिकारीबाट प्रवाह हुने सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरेको प्रमुख प्रशासकीय अधिकृत डिसीले बताए । किसानले उत्पादन गरेको कृषि उपज बस्तुहरु बजारिकरण र बिक्रीका लागि ढुवानी सेवा अन्तरर्गत कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्ने भएको छ । स्थानीय स्रोत तथा साधनको पहिचान तथा परिचालन गरि गाउँपालिकाको आन्तरिक आय बृद्धि हुने योजना तथा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा नागरिकले राखेका प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले घोषणा गरिएका प्रतिबद्धताहरु पुरा गरिने बताए । ‘सुशासन कायम गर्नमा हामी प्रतिबद्ध छौँ, गाउँपालिकाले अघि सारेको नीति तथा कार्यक्रम अनुसार नागरिकका समस्याहरु समाधान गर्दै जानेछौँ,’ केसीले भने । उनले कृषकहरुले भोग्दै आएको समस्यालाई समाधान गर्न गाउँपालिकाले पहल गरिरहेको बताए । गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले नागरिकबाट आएका सुझाव अनुसार गाउँपालिकाले काम गर्ने प्रतिबद्धता जनाईन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको वार्षिक प्रगति विवरण तथा सेवा प्रवाहबारे प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले प्रस्तुत गरेका थिए । यस्तै पशुपंक्षी विकास शाखाका पदमप्रसाद न्यौपाने, कृषि शाखाका गगनबहादुर हमाल, शिक्षा शाखाका सुरेन्द्र भण्डारी, स्वास्थ्य शाखामा लक्षमण खत्री, प्राविधिक शाखामा इन्जिनियर विभुषणकुमार खड्का र आर्र्थिक प्रशासन शाखाका लेखा अधिकृत टंकबहादुर कार्कीले शाखा अनुसार वार्षिक प्रगति प्रतिवेदन तथा सेवा प्रवाहबारे जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया