कर्णालीका युवाको एक स्वर ‘विदेश पलायन रोकियोस्’

नेपाल सवाल, सुर्खेत । कर्णालीका युवाहरुले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने माग गरेका छन् । तीनै तहका सरकारले युवा स्वरोजगारका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर युवाहरुलाई विदेश पलायनबाट रोक्नुपर्ने माग गरेका हुन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको सहकार्यमा प्लेईङ्ग फर चेन्जले सुर्खेतमा आयोजना गरेको प्रदेश युवा भेलामा युवाहरुले कर्णालीमा स्थानीय स्तरमै रोजगारीको अवसर प्राप्त हुन नसेको गुनासो गरेका छन् । दैलेखका बिमल उपाध्यायले अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको बताए । ‘सत्ताको बागडोर सम्हालेका नेताहरुले युवाहरुको कुरा नै सुन्न चाहेको देखिदैन्, दिवसको दिनमा मात्रै अधिकारको कुरा गर्ने प्रवति त्याग्नुपर्छ,’ उनले भने ।

प्लेईङ्ग फर चेन्ज कर्णालीका अध्यक्ष प्रकाश खड्काले संघीय सरकारले कर्णालीका युवाहरुलाई हेपाहाँ प्रवृति देखाएको बताए । नीति निर्माण र अवसरहरुमा काठमाडौं र कर्णालीका युवाहरुको समान पहुँच हुनुपर्ने खड्का बताउँछन् । कर्णाली प्रदेश सरकारले युवाहरुलाई स्थानीयस्तरमै रोजगारीका अवसरहरु दिनुपर्ने उनको माग छ । ‘प्रदेश सरकारले १० हजार जनालाई रोजगारी दिने कार्यक्रम अघि सारेको छ, तर कसरी रोजगारी दिने भन्ने स्पष्ट योजना खोई ?,’ उनले भने । मुख्यमन्त्री, मन्त्री तथा सचिवहरुलाई प्रदेश युवा नीति निर्माणका लागि पटक–पटक आग्रह गरेपनि प्रदेश सरकारले आलटाल गरिरहेको खड्काले बताए ।

सुर्खेतका प्रविन बयकले युवाहरु क्षमतावान हुँदाहुँदै सरकारले पर्याप्त अवसर नदिएको गुनासो गरेका छन् । ‘युवाहरु क्षमतावान् छन् आफ्नो क्षमताले भ्यायसम्म योगदान दिईरहेका छन् तर, सरकारले दिने अवसर पर्याप्त छैन्, अवसरका लागि युवाहरु पनि अग्रसर हुनुपर्छ,’ उनले भने । सरकारले युवाहरुलाई विदेश पलायनबाट रोक्न ठोस् कदम चाल्नुपर्ने उनको माग छ । विदेश पलायनबाट रोक्नका लागि रोजगारी सृजना नै प्रमुख उपाय भएको बयकको भनाई छ ।

कालिकोटका युवा प्रकाश काफ्लेले कर्णाली प्रदेश पछि प¥यो भन्दै भाषण गर्ने नेता नभई कर्णालीलाई यसरी विकास गर्छु भन्ने स्पष्ट योजना भएको नेता चाहिएको बताए । अर्का युवा प्रताव बोहोराले सरकारले युवाहरुलाई युवाहरूलाई आत्मनिर्भर गराउने नीति बनाउनुपर्ने बताए । ‘अहिले धेरै नीतिहरु बनेका छन्, तर ती दस्तावेजमै सीमित छन्, कार्यान्वयनको चरण फितलो छ, बनेका नीतिहरु कार्यान्वयनको चरणलाई बलियो बनाउनुपर्छ,’ उनले भने । युवा जागरणको लागि विकट गाउँ–गाउँमा अभियान चलाउनुपर्ने उनको माग छ । सुर्खेतकी रेखा वलीले सरकारले प्रत्येक युवाको क्षमता विकास, देशभित्रै रोजगारी सृजना र युवाको सिप र क्षमता अनुसारको काम दिने नीति ल्याउनुपर्ने बताइन् ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले युवालाई अवसर दिने र रोजगारी सृजना गर्ने सवालमा प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गरे । ‘प्रदेशको विकास र समृद्धिको लागि युवाहरुलाई साथमा लिएर अघि बढ्न हामी तयार छौँ, हामीलाई युवाहरुको साथ चाहिएको छ,’ मन्त्री पोखरेलले भने । प्रदेशस्तरमा युवा नीति निर्माणको लागि आवश्यक गृहकार्य थालिएको मन्त्री पोखरेलको भनाई छ ।

सोहि कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३० जना युवाहरुलार्य सम्मान गरिएको छ । प्लेईङ्ग फर चेन्जका अनुसार राजनीति, पत्रकारिता, उत्प्रेरणा, खेलकुद, उद्धमशिलता, प्रशिक्षण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, आबिस्कार–अन्वेषण गरि १० क्षेत्रका ३० जना युवालाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया