स्तनपान सप्ताह: आमाको दूधको महत्त्व र फाइदाहरु

विश्वभरी नै स्तनपानको महत्त्व र फाइदाका बारेमा चर्चा गर्दै जनचेतनामूलक कार्यक्रम गरेर हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता अर्थात् १-७ तारिखसम्म स्तनपान सप्ताह मनाउँदै आइरहेको छ।  यसपटक पनि विश्वमा  “Let’s make breastfeeding and work, work!” र हाम्रो क्षेत्रमा  ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता ,सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने नारासहित विश्व स्तनपान सप्ताह मनाइँदैछ।

स्तनपान एउटा आमाले आफ्नो बच्चाको लागि गर्नसक्ने एक महत्त्वपूर्ण र महान कार्य हो। जसले गर्दा बच्चालाई चहिने सम्पूर्ण खाना, पोषकतत्व र विभिन्न संक्रमणबाट बच्न चाहिने एन्टिबडी प्राप्तिका लागि मद्दत पुग्दछ।

विश्व स्वास्थ्य संगठन र विभिन्न अध्ययनका प्रभावकारी स्तनपान भन्नका लागि निम्न कुरा गराउन जरुरी देखिन्छ :

–सबै आमाले बच्चा जन्मिनेबित्तिकै जतिसक्दो छिटो, सु्त्केरी भएको १ घण्टाभित्रै आफ्नो दूध खुवाउनु पर्दछ।
–पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र त्यसपछि २ वर्षसम्म थप आहार सहित स्तनपान लाई निरन्तरता दिनुपर्दछ।

विश्व स्वास्थ्य संगठनका अनुसार skin-to-skin contact, rooming -in and kangaroo mother care जस्ता कार्यले नवजात शिशुको अस्तित्व र बिरामीपनमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।  प्रभावकारी स्तनपानले बच्चाको स्वास्थ्य मात्र नभएर आमाको शरिरीक तथा मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउन सहयोग पुग्दछ। सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइसकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मद्दत पुर्‍याउँदछ।

स्तनपानले गर्दा बच्चालाई हुने फाइदाहरु:
–आमाको दूध बच्चाको लागि शुद्ध खाना हो, पचाउन सजिलो, सजिलै उपलब्ध गराउन सकिन्छ।
–बच्चाको वृद्धि विकासका लागि आवश्यक सबै प्रकारका पोषक तत्वहरू आमाको दूधमा हुने गर्दछन्।
–यसमा एन्टिबडीसमेत हुने भएकाले विभिन्न संक्रमणबाट बचाउँछ।
–स्तनपानले मोटोपन, दम तथा एलर्जीको जोखिमलाई कम गराउँछ।
–आमाको दूधले संज्ञानात्मक विकासको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।

आमालाई हुने फाइदाहरु:
–सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइ सकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मदत पुर्‍याउँछ।
–बच्चा जन्मेपछि धेरैजसोमा देखिने पोस्टपार्टम डिप्रेसनमा कमी।
–भविष्यमा हुनसक्ने स्तन तथा अन्य क्यान्सरको जोखिममा न्यूनीकरण।
–बच्चासँगको आत्मिय बन्धनको विकास।

यी धेरै फाइदाहरु सँगसँगै घरपरिवारसँगको सम्बन्धको विकास, परिवारको आर्थिक तथा सामजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। आमा र बच्चाको स्वास्थ्यसँगै प्रभावकारी स्तनपानले एउटा स्वस्थ समाज र देशको विकास गर्न टेवा पुर्‍याउने भएकाले हामी सबैले आफ्नो व्यक्तिगत, संस्थागत तथा हरेक तवरले स्तनपान प्रवर्द्धनका लागि एकजुट भै लाग्न जरुरी देखिन्छ।

डा.धर्मराज रेग्मी /प्रसुति तथा स्त्रीरोग विशेषज्ञ
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक, स्वास्थ्य सेवा कार्यलय, दैलेख । nepallive
बाट साभार

तपाईको प्रतिक्रिया