विश्व स्तनपान सप्ताह मनाइँदै


सुर्खेत । मंगलवारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । सप्ताहको अवसरमा कर्णालीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन १ हप्तामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । यस वर्ष ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने नारा तय गरिएको हाे । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार सप्ताह अवधीभर कर्णालीका १० वटै जिल्लामा सचेतनामुलक कार्यक्रम सञ्चालन हुनेछन् । बच्चा जन्मिएको ६ महिनासम्म पर्याप्त स्तनपान गराउने आमाहरुको संख्या घट्दै गएकोले पूर्ण स्तनपान गराउनेको संख्या बढाउन सप्ताहव्यापी कार्यक्रम संचालन गरिएको उनले बताए । उनका अनुसार कर्णालीका सबै जिल्लामा स्वास्थ्यकर्मी तथा महिला स्वयंमसेविका मार्फत हरेक टोलटोलमा सचेतनामुलक कार्यक्रम सञ्चालन हुनेछ ।

के हो विश्व स्तनपान सप्ताह ?

विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ । विश्वका विभिन्न देशहरुले आयोजना गर्ने गरेको पाइन्छ । यस साताव्यापी उत्सवको उदेश्य नयाँ आमाबुबाहरुको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । यस वर्ष पनि सधैँ जस्तै अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी उत्सव मनाइँदै छ । यस विषयको साझा नारा सहित उत्सव मनाउने एकमात्र कारण स्तनपानको लाभ र यसको महत्वको बारेमा सजग बनाउनु हो ।

तपाईको प्रतिक्रिया